हाम्रो समय

ड्राइभिङ लाइसेन्सको सट्टा स्मार्ट कार्ड



यातायात व्यवस्था विभागले आउँदो मंसीरपछि कागजी लाइसेन्सको ठाउँमा स्मार्टकार्ड सवारी चालक अनुमति पत्र (लाइसेन्स ) वितरण गर्ने भएको छ । यसका लागि लागि ३ वटा अत्याधुनिक मेसिन नेपाल भित्र्याइसकिएको छ । पाँच वटा आउने प्रक्रियामा छन् ।

छपाइको संयन्त्र नेपालमै स्थापना गर्ने ठेक्का पाएको भारतको मद्रास सेक्युरिटी प्रिन्टिङ प्रेसले ३ वटा प्रिन्टिङ मेसिन नेपाल भित्र्याइसकेको हो ।
स्मार्टकार्डको चिप्समा सम्बन्धित व्यक्तिको जन्म मिति, नागरिकता÷राहदानी नम्बर, रक्त समूह, स्थायी ठेगाना, पिताको नाम, लाइसेन्स जारी र खारेज हुने मिति उल्लेख हुनेछ । कुन सवारीका लागि अनुमती पाएको सो पनि कार्डमै उल्लेख हुनेछ । कार्ड रिडरको सहायताले मात्र स्मार्ट लाइसेन्स जाँच गर्न सकिनेछ ।

नयाँलाई स्मार्टकार्ड वितरण सुरु गरेपछि विभागले पुरानालाई पनि विस्तारै स्माटकार्डमा प्रतिस्थापन गर्दै लगिनेछ । सबैखाले सवारी साधनका लागि देशभर करिब २३ लाख चालक अनुमति पत्र वितरण भएका छन् ।पुरानो अनुमति पत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने काम एक आर्थिक वर्षमा सकिँदैन । रुपान्तरणको काम सक्न करिब ८ अर्ब रुपैयाँ खर्चिनु पर्ने देखिन्छ । त्यसैले हरेक आर्थिक वर्षमा यसका लागि बजेटको विनियोजन गर्दै लगेर केही वर्षभित्र रुपान्तरणको काम सक्नुपर्ने हुन्छ ।

चालक अनुमतिपत्र स्मार्ट कार्डमा वितरण गर्नुअघि प्रयोगकर्ता र नियामकलाई तालिम दिनु आवश्यक हुनेछ। वितरण गर्नुअघि विभागले प्रयोग गर्ने तरिका तथा विधिबारे चालक, ट्राफिक प्रहरी र यातायात व्यवस्था कर्मचारीलाई तालिम दिने योजना बनाएको छ।दैनिक १२ घण्टा सञ्चालन गर्दा एउटा प्रिन्टरले ६ सय कार्ड छाप्न सक्छ। यस हिसाबले दैनिक ४ हजार ८ सय कार्ड छपाइको काम गर्न सकिन्छ ।

भारतीय कम्पनीले कार्ड छपाईको संयन्त्र नेपालमा स्थापना मात्र गरिदने र कार्डमा चालकको विवरण राखेर छाप्ने काम नेपालकै प्राविधिकहरुले गर्ने छन् ।
कार्ड छपाइको संन्त्रय स्थापनाका लागि एसियाली विकास बैंक (एडिबी)को सूचना तथा सञ्चार प्रविधि (आइसिटी) अन्तर्गतको कार्यक्रमबाट प्राप्त २३ लाख अमेरिकी डलर अनुदानबाट नै कार्ड छपाईको संयन्त्र स्थापनाको काम भइरहेको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook